काठमाडौं– परिवारसँगको रिसका कारण रौतहटमा ९ वर्षीय बालकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र सोही ठाउँका ३७ वर्षीय सञ्जय राम छन्।
गत मंसिर २५ गते सोही ठाउँका जयकिशोरप्रसाद कुशवाहका ९ वर्षीय छोरा आसनारायणप्रसाद आफ्नै घरबाट वेपत्ता भएका थिए। खोजी गर्ने क्रमम झण्डै एक सातापछि पुस १ मा उनको शव माधवनारायण–८ कै बागमती नदीमा भेटिएको थियो।
शव भेटिएपछि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। हत्याको कारण पुरानो रिसइबी र बालकको परिवारसँगको दुश्मनी रहेको पाइएको छ।
घटनाका दिन बालकलाई देखेपछि जयरामले सञ्जयसँंग सल्लाह गरेर बदला लिने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
जयराम र सञ्जय आशनारायणका हात–खुट्टा समातेर मुख थुने। त्यसपछि बोकेर सोही स्थानमा रहेको छाप्रोभित्र लगेर गम्छा र कपडाले हात–खुट्टा बाँधेर बालकको हत्या गरेको पाइएको छ । हत्या गरिसकेपछि उनीहरुले सोही छाप्रोमा त्रिपालले छोपी लाश लुकाएका थिए।
मंसिर २६ गते राति अन्दाजी १२ बजे उनीहरुले उक्त लाश निकाली बोरामा राखेर करिब १ किलोमिटर टाढाको खेतको परालमा लुकाएका थिए।
जयरामले मृतकको गन्जी र हात–खुट्टा बाध्न प्रयोग गरेको कपडा सोही राति आफ्नै खरियानको घुरमा जलाएको पाइएको छ।
कसैलाई शंका नहोस् भन्नका लागि जयराम मृतकको बुबासँग दिउँसोको समय आसनारायणलाई खोजी गर्न जाने गरेका थिए। मंसिर २९ गते बेलुका लाश हेर्न जाँदा शवबाट अलि अलि गन्ध आएको थाहा पाएपछि सञ्जयसँग लाश अन्यत्र फाल्ने सल्लाह गरेको पाइएको छ।
त्यसपछि सोही राति अन्दाजी १२ बजेतिर दुवैजना घरबाट बोरा लिएर लाश भएको ठाउँमा पुगेका थिए। प्लास्टिकको बोरामा जयरामले शव बोकेको र संजयरामलाई आगाडि बाटो हेर्न लगाई बागमती नदीमा फालेको पाइएको छ। शव बोक्दा लगाएको ज्याकेट जयरामले जलाएको प्रहरीको पाइएको प्रहरीको भनाइ छ।
प्रहरीले बालकको मुख बाँध्न प्रयोग भएको गम्छा, शव फ्याँक्न प्रयोग भएको बोरा, गन्जी काट्न प्रयोग भएको हँसिया, शव छोप्न प्रयोग भएको त्रिपाल बरामद गरिएको रौतहटका डीएसपी तथा प्रवक्ता सुनिल मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।