काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पिंजडा ठानिनु अशुभको संकेत रहेको भनेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदसमेत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार सञ्चालनका लागि अध्यक्ष ओलीको नेतृत्वमा गठित संयन्त्रले सरकारलाई पिंजडामा राखेको भनेका थिए।
अध्यक्ष ओलीले संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै सांसद शर्मालाई जवाफ दिएका हुन्।
‘बेलगाम चल्ने कुरालाई, थिति नमान्ने कुरालाई, प्रबन्धभित्र बाँधिनेलाई पिंजडा ठान्ने कुरा यो नै अशुभको संकेत हो,’ उनले भने।
यस्तै, यस किसिमको संयन्त्रको अध्यास कांग्रेसले नै चलाएकाले यो त्यसको निरन्तरता मात्र रहेको बताएका छन्। यसअघि शेरबहादुर देउवाको नेतृत्वमा बनेको वाम–लोकतान्त्रिक गठबन्धनमा कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा एक संयन्त्र बनेको थियो।
उक्त कुरालाई लक्षित गर्दै ओलीले भने, ‘संयन्त्र बनेको पनि विरोध गरेको सुनियो। मैले पहिले भेनको कुराको पनि गरेको सुनियो। संविधानले चिन्दैन यो संयन्त्र किन चाहियो भनेको कुरा स्मरण गर्दै बोलेको सुनियो। नेपाली कँंग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्यो। मैले पहिला नमानेको हो। चाँहिदैन भनेको हो। तर कांग्रेसले गत सरकारमा एउटा संयन्त्र बनाएर एउट अभ्यास सुरु गर्यो। त्यसैलाई मानेको कुरा भन्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।