काठमाडौं– मोडल भन्दै सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारका १९ वर्षीय विवेक आचार्य छन्।
उनलाई प्रहरीको साइबर ब्यूरोले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमार्फत् कुराकानी गरी आफू चलचित्र क्षेत्रमा रहेको मोडलिङ गर्दै आएको बताउने गरेका थिए। प्रहरीका अनुसार उनले आफू मोडल भएको भन्दै झुटा पोस्ट बनाइ नेपाली गीतहरुको लिंक शेयर गर्न लगाउने र आफूतर्फ आकर्षित गराउने गर्थे। मोडल भन्दै आकर्षित गरेपछि भिडिओ कुराकानीमा केटीहरुलाई नाङ्गो बनाउन लगाउने र त्यसको रेकर्ड गरेर परिवार तथा साथीभाईहरुलाई पठाइदिन्छु भन्दै बार्गेनिङ गरेर ठगी गरेको ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।
पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।