काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह’ भन्ने प्रमाणित गरेर सरकारबाट फर्किन स्पष्ट पारेका छन्। पार्टीको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै उनले आफू पनि सामेल नहुने र अरु मन्त्रीलाई पनि त्यस्तो काममा सामेल हुन नदिने बताएका छन्।
उनले भने, ‘राप्रपा वा मैले कुनै पनि प्रकारको लेनादेनामा सामेल हुनेछैन। र, अरु कसैले गरेको थाहा पाएँ भने, त्यो प्रमाणित भयो भने कारबाही मात्रै होइन, सामाजिक जीवन समेत ध्वस्त हुनेगरी कारबाही गर्नेछौं।’
उनले यो संघीय मात्र नभइ प्रदेश सरकारका मन्त्रीका लागि पनि चुनौती रहेको बताए। ‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको थाहा पाइयो भने र प्रमाणित भयो भने एकक्षण सोध्नेवाला छैन। कुनैपनि प्रकारको दबाब सहन तयार रहन्छु। म ठिक रहन्छु र अरुलाई पनि ठिक राख्छु,’ लिङ्देनले भने।
आफूले सरकारमा जाने निर्णय राप्रपा फरक छ भन्ने प्रमाणित गर्न लिएको बताए। ‘हो कि होइन जस्ता अनेक मोड आउँछन्। धैर्य रहन आग्रह गर्दछु। म अध्यक्ष हुन्छु भनेर पत्याएका थिएनन्। यो परिणाम ल्याउने कुरामा पनि पत्याएका थिएनन्। अहिलेको संसदीय संरचनामा निर्णायक पार्टी हुन्छ भन्ने थोरै कल्पनामा थियो, त्यो बनायौं। त्यसैले अब पनि धैर्य गरौं,’ उनले भने।
उनले सरुवा, बढुवा र नियुक्तिको अपेक्षा नराख्न कार्यकर्तासँग अनुरोध गरेका छन्। आफूले त्यस्तो काम नगर्ने बताउँदै लिङ्देनले कसैको जिम्मा नलिन समेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।