काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले नभई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठवन्धनभित्र छलफलमा विवाद कहिले आउँछ अनि प्रधानमन्त्री बनाउने भनेर ओलीले ढोक्सा थापेको टिप्पणी गरे।
कांग्रेस सांसदसमेत रहेका शर्माले आफूहरु चुनावमा सत्ता गठवन्धन भएर गएको र त्यही भएर मत पाएको स्मरण गर्दै तर बीचमा सरकार बनाउन ओलीले ढोक्सा थापेको बताए। आफूले माओवादी केन्द्रसहितको मत पाएको र माओवादीका सासदहरुले पनि कांग्रेसको मत पाएकाले त्यसमा एमाले अध्यक्ष ओलीको प्रवेश भएको आरोप लगाए।
एमालेका देवराज घिमिरेले सभामुख जितेको प्रशंगमा उनले विगतका सभामुखको कार्य हेर्दै सफल हुन शुभकामना दिए। उनले राष्ट्रपतिमा धेरै चर्चा र दाबी गर्ने अवस्था कांग्रेस अहिले पनि नभएको स्वीकार गरे।
सबैभन्दा ठूलो दल कांग्रेस भएकाले शीतल निवासको नेतृत्व अपेक्षा गरेर मत दिएको भन्दै यसमा कमजोरी भएको शर्माले स्पष्ट पारे।
‘राष्ट्रपति, सभामुखमा निर्वाचित हुन खोज्ने कुरामा सत्तालाईजोड्न मिल्दैन। कांग्रेस संसद्मा जिम्मेवार र शालिन प्रतिपक्षको रुपमा रहन्छ,’ उनले भने।
महामन्त्री शर्माले नयाँ संसद्मा उभिएर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेकाले आफूहरुले जिम्मेवार भएर विश्वासको मत दिएको बताए। पार्टीको निर्णयमा आफूले पनि फरक मत राखेको बताउँदै उनले संसदीय अभ्यासमा यो गलत कदम नभएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।