काठमाडौं– सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमै मौनधारण गरेका छन्। रोस्ट्रममा बोलिरहेका उनले मधेसका सहिदलाई अरु कसैले उठेर सम्मान गर्छन् कि गर्दैनन् भन्दै मौन धारण सुरु गरेका थिए।
राउतको मौन धारण सुरु भएलगत्तै लोसपाका नेताहरु उठेका थिए। त्यस्तै, कांग्रेसका सांसदहरु पनि सिटबाट उठेका थिए। अन्य केही सांसदहरु पनि उठेका थिए। गृहमन्त्री रवि लामिछाने लगायत अन्य केही मन्त्री पनि उठेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यथास्थानमा बसिरहेका थिए।
२०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता सुनिश्चित नभएको भन्दै उठेको मधेस आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको हत्या भएको थियो।
त्यसपछि मधेस केन्द्रित दलहरुले बलिदान दिवस मनाउँदै आएका छन्। त्यसलाई जोड्दै राउतले शासक वर्गका हरेक विषय मधेसले मानेको भन्दै मधेसका विषय पनि मान्नुपर्ने बताएका थिए।
सभामुखको निर्वाचनमा जनमत पार्टीले देवराज घिमिरेलाई समर्थन गरेको राउतले बताए। उनले आफूहरु अझै पनि सत्ता गठबन्धनमै रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।