काठमाडौं- गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्च बाहिर ननिस्किने बताएका छन्।
कांग्रेस सांसद रामहरि खतिवडाले सदनमा हत्या अभियोग लागेका सांसद सदनमा भएको सुनिएकाले उनले मतदानमा भाग लिन पाउने वा नपाउने निर्णय गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए।
‘फरार रहनुभएका मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो’, खतिवडालाई जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च बाहिर निस्किँदैन। म यसको ग्यारेन्टी गर्न चाहन्छु। त्यसको एउटा प्रक्रिया छ। त्यसमा दबाब र प्रभाव दिनुहुने छैन भन्ने जानकारी मैले यसअघि पनि गराइसकेको छु।’
लामिछाने सभामुख उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्न रोस्ट्रममा उभिएका बेलामा सो जवाफ फर्काएका हुन्। त्यसअघि खतिवडाले हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीतर्फ लक्षित गर्दै प्रश्न उठाएका छन्। कोइरी एमाले सांसद हुन्। उनीमाथि हत्या अभियोग लागेको छ।
‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुने बेलामा यस संसद्मा हत्याको अभियोग लागेका संसदहरु पनि भित्र छन् भन्ने सुनिन आएको छ। म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छौँ, हामी चिन्दैनौँ उहाँलाई, यहाँ हुनुहुन्छ कि हुनुहुन्न। यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौँ’, खतिवडाले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।