काठमाडौं– नेपाली कांग्रेसले यही माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका सन्दर्भमा सदनलाई जानकारी गराउन माग गरेको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा सुरुमै समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले घटनाबारे देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चासो र चिन्ता अभिव्यक्त भएको बताए।
‘हवाई दुर्घटना भइसकेपछि देशभित्र र अन्तर्राष्ट्रिय जगतमा यत्रो ठूलो चासो र चिन्ता अभिव्यक्त भएको बेलामा धेरै ठूलो पीडा हामीले अनुभूती गरिरहेको बेलामा आजको बैठकमा सरकार यो विषयमा प्रवेश हुनेछ, के भएको थियो र अहिले के भइरहेको छ भन्ने विषयमा सकारले गरिमामय सदनलाई जानकारी गराउँथ्यो र सदनमार्फत् सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय जगतलाई पनि यसका बारेमा जानकारी गराउने यो आधिकारिक थलोमा सरकार जानकारीका साथ उपस्थित हुन्थ्यो भन्ने मैले आशा र अपेक्षा गरेको थिएँ,’ लेखकले भने।
उनले बिहीबारको कार्यसूचीमा सो विषय नभएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘आजको कार्यसूचीमा यो विषय छैन। आजको कार्यसूचीलाई स्थगन गरेर, अथवा केही समयलाई पछि सारेर भए पनि यो बारेमा सरकारले जानकारी गराउनुपर्छ।’
सरकार सदनका प्रति उदासिन, पीडित परिवारका प्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन नसक्ने लेखकको भनाइ छ। ‘त्यसैले अहिले नै सरकारलाई निर्देशन गरियोस्, सरकारले यस विषयमा सदनलाई जानकारी गराओस्,’ सरकारलाई रुलिङ गर्न माग गर्दै लेखकले सभामुखको ध्यानाकर्षण गराउँदै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।