काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले प्रतिनिधि सभामा नेमकिपालाई विपक्षी पार्टीको मान्यता दिन अनुरोध गरेका हुन्।
उनले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताउँदै कांग्रेस विपक्षी दल नहुने जिकिर गरे। उनले भने, ‘संघीय कानुन बमोजिम प्रतिनिधि सभाको बैठक विपक्षी दल तोकेर मात्रै चालू गर्नुपर्ने हुन्छ। संसद्ले बनाएको कानुन संसद्भित्र कार्यान्वयन नभए देशमा अराजकता फैलिन्छ। संसद् सचिवालयले बलमिचाई गर्नुहुँदैन। यो बैठक स्थगित गरि नेपाल मजदुर किसान पार्टीलाई प्रमुख विपक्षी दल तोकेपछि मात्रै पुनः सञ्चालन गर्न सभाध्यक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद सुवालले नेकमिपाले यसअघिका बैठकमा संसद्मा गणपुरक संख्या नपुग्दा संसद्को ध्यानाकर्षण गराएकोसमेत स्मरण गराए। उनले कांग्रेसले प्रमुख विपक्षीको कुर्सी छोड्नसमेत माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।