काठमाडौं- नेकपा एमालेले सोमबार पठाएका चार जना सांसद्ले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन्। परराष्ट्र मन्त्री विमला राई पौड्याल बाहेक अन्य तीन जनाले दुई पटकसम्म प्रत्यक्ष निर्वाचन जितेका छन्।
समानुपातिक सांसददेखि मन्त्रीसम्म एमालेले पहिलो चरणमा नयाँलाई अवसर दिने नीति लिएको हो। यसअघि मन्त्री बनाइएकामा पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल मात्रै यसअघि अवसर पाइसकेका नेता हुन्।
यसैगरी ज्वाला साह पनि यसअघि १३ दिनका लागि मात्रै मन्त्री भएकी थिइन्। मन्त्रीका रुपमा काम नथाल्दै उनले छाड्नुपरेको थियो। दामोदर भण्डारी पहिलो पटक मन्त्री बनेका हुन् भने राजेन्द्र राई पनि पहिलो पटक नै मन्त्रीको अवसर पाउने नेता हुन्।
डा विमला राई पौड्याल, परराष्ट्र मन्त्री
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट उनी मनोनित भएकी हुन्। एमाले अध्यक्ष केपी ओलीको अघिल्लो (२०७२)को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिइन्।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएकी थिइन्। उनले विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा थिइन्।
उनी २०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन्। विमलाले नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गरेकी छिन्। त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थतन्त्रमा स्नातक तहको अध्ययन पनि गरेकी छिन्।
पदम गिरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पदम गिरी पर्वतबाट निकटम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई दोस्रो पटक पराजित गर्दै गिरी निर्वाचित भएका हुन्। ४५ वर्षीय गिरी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।
२०४७ बाट विद्यार्थी संगठन अखिल पाँचौंबाट राजनीति सुरु गरेका उनी एमालेको पर्वत जिल्ला अध्यक्ष पनि भएका थिए। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट कांग्रेसका जोशीलाई नै पराजित गरेका थिए।
भगवती चौधरी, महिला तथा बालबालिका
भगवती चौधरी सुनसरी- ३ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्। उनले कांग्रेसका विजय गच्छादारलाई पराजित गर्दै जित हासिल गरेकी हुन्। प्रत्यक्ष निर्वाचनतर्फ उनी यो क्षेत्रबाट तेस्रो पटकको प्रतिस्पर्धामा विजयी भएकी हुन्। पहिलेका दुई प्रतिस्पर्धामा उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्।
५१ वर्षीय चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन्। २०४८ देखि राजनीतिमा आबद्ध उनी पहिलो संविधान सभामा समानुपातिक सभासद भएकी थिइन्। उनी २०६८ सालमा वन तथा भू-संरक्षण राज्यमन्त्री भएकी थिइन्।
हरि उप्रेती, रक्षा मन्त्रालय
हरि उप्रेती सर्लाही- ३ बाट निर्वाचित भएका हुन्। उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्।
५५ वर्षीय उप्रेती नेकपा एमालेबाट २०७० को संविधान सभा निर्वाचनमा पनि सर्लाही- ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले तत्कालीन एनेकपा माओवादीका उम्मेदवार भरतकुमार थापालाई पराजित गरेका थिए।
त्यसअघि २०६४ को संविधान सभा निर्वाचनमा उनी तमलोपाका उम्मेदवार सुमित्रादेवी राय यादवसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।