धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी मंगलबार प्रदेश सभाको सभामुख निर्वाचित भएका हुन्।
सभामुख चयनका लागि मंगलबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरे। भण्डारीको पक्षमा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ संसद थिए।
प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले)की जानकी ऐर बमले राखेको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २९ र ‘हुन्न’ भन्ने पक्षमा पनि २३ मत परेको हो। उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल छिन्।
सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मतमात्रै रह्यो। कांग्रेसका रावललाई एकीकृत समाजवादीले पनि साथ दिने भन्ने तय थियो। कांग्रेसका १९ तथा समाजवादीका ४ सांसदको मत रावलले पाउने भनिए पनि उनले २० मत मात्र पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।