काठमाडौं– माओवादी केन्द्रका नेता सुदन किरातीले मन्त्री हुने भएपछि आफ्नो बुवासँग भएको संवाद सार्वजनिक गरेका छन्। आफ्नो पिताले मन्त्री हुने कुरा नपत्याएको बताउँदै ‘सपनामा कि बिपनामा’ भनेर सोधेको किरातीले उल्लेख गरेका छन्।
आफ्नो वंशमा वडा अध्यक्षसम्म कोही नभएको उल्लेख गर्दै राम्रो गर्ने सुझाएको उनले उल्लेख गरेका छन्।
यस्तो छ किरातीले सार्वजनिक गरेको संवाद् :
डाँडाको जुनघाम जस्तै बुवासँग कुराकानी !
मैले भनेँ- बुवा म मन्त्री हुने भएछु।
बुवा- हँ! होइन कुन मन्त्री? राम राम राम साँच्चै हो? होइन, यो सपना हो कि बिपना हो?
म- हो बुवा साँच्चै हो, बिपना नै हो (संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन)
बुवा- मन्त्री चाहिँ कसरी भइस्? कसले गर्दा भइस्?
म- पहिलो त तपाईंहरुले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो।
बुवा- राम राम राम! म उहिले फोक्लेण्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिनथेँ!
म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो...।
बुवा- हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ, राम्रो गर्नु।
म - पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए ...।
बुवा - म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला, म सबै भनिदिउँला। बुवा रुनु भो! म...!
सम्झें!
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उबेला धेरै रुनुभएको थियो। आज पनि उस्तै रुनु भो। तर, प्रसंग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै। आँसुको मुहान र भाव भने फरक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।