काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।
जम्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनलाई ७० सांसदको समर्थन थियो।
मुख्यमन्त्री जम्कट्टेलले पुस २६ मै पद तथा गोपनियताको सपथ लिएका थिए। साथै, एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका थिए।
माओवादी नेतृत्वका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएका कारण मुख्यमन्त्री जम्कट्टेललाई के गर्ला भन्ने अन्योल छ। कांग्रेस बागमती प्रदेश संसदीय दलमा पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने र दिन नहुने दुई पक्ष रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।