काठमाडौं– आज (मंगलबार) दिउँसो १ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ। सोमबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा गरेसँगै नयाँ मन्त्रीहरु नियुक्त गर्ने र सपथ गराउने काम अघि बढ्ने भएको हो।
‘मन्त्रालयको बाँडफाँटको काम टुंग्याएका छौँ। यहाँ भोलि (मंगलबार) नामहरु सहित सार्वजनिक गर्छौं। भोलि १ बजे सपथ छ। (मंगलबार) बिहान पार्टीहरुमा पनि छलफल गर्छौं। यहाँ भएको बाँडफाँट पार्टीहरुमा छलफलपछि केही परिवर्तन हुन पनि सक्छ’, सोमबार राति बालुवाटारमा भएको बाँडफाँटपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने।
उनका अनुसार, बालुवाटार सहमतिपछि पार्टीहरुमा आउने सुझावले कतिपय मन्त्रालय परिवर्तन हुनसक्नेछ। त्यो आपसी समझदारीमै परिवर्तन गर्न सकिने र तर सत्ता साझेदार दलहरुको बैठक बस्नु नपर्ने उनको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पुस ११ मै सपथ लिएका थिए। त्यतिबेला केही मन्त्रीहरु नियुक्त गरेको भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।