जनकपुर– मधेस प्रदेश सभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ।
आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले सोमबारका लागि तोकिएका कार्यक्रम स्थगित गरी मंगलबारका लागि तय गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
यसअघि सोमबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो।
प्रदेश सभा सचिवालय सचिव यादवले प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए।
मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले मंगलबारको बैठकमा विश्वासको मत लिने जानकारी दिए।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।