काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। ओली निवासमा भएको भेटवार्ता झन्डै तीन घण्टायता जारी छ।
सभामुखको निर्वाचन मिति नजिकिएको र मन्त्रिपरिषद्ले पूर्णता नपाइरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ओली निवास बालकोट पुगेका थिए। उनले खाना पनि बालकोटमै खाएको बताइएको छ।
'मुख्यतः सभामुखको निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमै उहाँहरु छलफलमा जुट्नुभएको होला', एमालेका एक नेताको आकलन छ।
प्रचण्ड र ओलीबीचको भेटवार्ता जारी रहँदा उपप्रधान तथा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि बालकोट पुगेका छन्। उनी एमाले-माओवादी केन्द्रबीच पछिल्लो पटक भएको सत्ता सहयात्राका एक जना सूत्रधार पनि हुन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान मात्रै नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङसँग भेट गरेका थिए। चीनले नेपालका वामपन्थी पार्टीहरुको एकता वा निकट सम्बन्धप्रति प्रयत्न गर्ने गरेको नेताहरुको भनाइ पाइन्छ। त्यसैले चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डको बालकोट यात्रालाई अर्थपूर्णरुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।