काठमाडौं– पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ।
प्रतिस्थापन (सब्टिच्युट) खेलाडीले गर्ने तालिममा रोनाल्डो जान अस्वीकार गरेपछि विवाद चर्किएको स्पेनिस सञ्चारमाध्यम मार्काले जनाएको छ।
कतारमा जारी विश्वकपअन्तर्गत पोर्चुगलले शनिबार सेमिफाइनल प्रवेशका लागि मोरक्कोविरुद्ध खेल खेल्दैछ। यसैले टोली अहिले त्यसको तयारीमा छ। यसैबीच, प्रशिक्षक सान्तोसले रोनाल्डोलाई प्रतिस्थापन खेलाडीले गर्ने तालिममा जान आग्रह गरेका थिए। तर रोनाल्डोले नमानी सुरुवाती ११ का खेलाडीले गर्ने तालिम नै गरेको बताइएको छ।
गत मंगलबार स्विट्जरल्याण्डविरुद्धको खेलमा सुपरस्टार रोनाल्डो सुरुवाती ११ मा परेका थिएनन्। उनी खेलको अन्त्यतिरमात्र मैदानमा प्रवेश गरेका थिए। यद्यपि, रोनाल्डो सुरुवाती ११ मा नखेले पनि सो खेल पोर्चुगलले ६–१ गोल अन्तरले सानदार रूपमा जित्यो।
प्रशिक्षक सान्तोसले दक्षिण कोरियाविरुद्धको समूह चरणको खेलमा रोनाल्डोलाई पूरै समय खेल्न दिएनन्। यसले गर्दा रोनाल्डोले असन्तुष्टि जनाएका थिए। यसपछि प्रशिक्षक र उनीबीच विवाद बढेको हो। रोनाल्डोले प्रशिक्षकको आदेश नमानेपछि विवाद झनै चुलिने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।