बैतडी– बैतडी प्रहरीले माया लुहारको हत्याका आरोपितलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी माया लुहारको हत्याका आरोपी भरतराम कोलीलाई सार्वजनिक गरेको हो।
मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका कोलीलाई आइतबार राति बैतडी पुर्याएर सोमबार सार्वजनिक गरिएको हो।
मायाको हत्यापछि उनी फरार थिए। फरार रहेका शिवनाथ गाउँपालिका–४ अभियुक्त कोलीलाई प्रहरीले आइतबार महेन्द्ररनगर बजारमा डुलिरहेको अवस्थामा समातेको थियो।
राति बैतडी पुर्याइएका कोलीलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रेम शाहीले बताए। यस्तै, कोली प्रेम सम्बन्धमा रहेको र मायाले अरुसँग पनि प्रेम सम्बन्ध राखेको शंकापछि धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ।
मायाले अरुसँग पनि प्रेम सम्बन्ध राखेको आशंमा भरतरामले विवाद झिकेपछि दुवैजनाबीच विवाद भएको र त्यसपछि उनले धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका प्रहरीले बताएको छ।
मायाको हत्यापछि उनीसँगै गएकी नेहाले घटनाबारे अरुलाई जानकारी दिने डरले भरतरामले चक्कु प्रहार गरि ज्यान मार्ने नियतले गम्भीर घाइते बनाएको डीएसपी शाहीले बताए।
कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।