भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघले मंसिर २३ गतेबाट भैरहवामा मेला आयोजना गर्दैछ। पहिले मेलाको आयोजना गर्दा लाखौं लगानी गरेर मेला सचिवालयलाई मायादेवी, रानीमहलको स्वरुप दिने संघले यसपटक सामान्य सचिवालय निर्माण गरेको छ।
यसपटकको सचिवालयले कुनै स्वरुप पाएको छैन। यसको मुख्य कारण हो आर्थिक संकट। संघका एक पदाधिकारी भन्छन्, ‘स्वरुप दिएर सचिवालय निर्माण गर्न कम्तीमा ३ देखि ४ लाख लाग्छ, तर बजेट छैन।’
संघका अध्यक्ष भिष्म न्यौपाने पनि आर्थिक संकटको अवस्थालाई स्वीकार्छन्। उनी भन्छन्, ‘यसरी सामान्य सचिवालय निर्माण गर्नुको मुख्य उद्देश्य मेला अवलोकन गर्न आउनेलाई थाहा होस् कि आर्थिक संकटका कारण पहिला भन्दा फरक भयो।’
मेलामा राखिने स्टल पनि अझैसम्म पुरै भाडामा जान सकेको छैन। पछिल्लो समय बजारमा देखिएको आर्थिक संकटका कारण व्यवसायीहरु मेलासम्म पुग्न सकेका छैनन्। संघका बाणिज्य उपाध्यक्ष नेत्र आचार्य अन्तिम दिनसम्म मेलाको सबै स्टलहरु भाडामा जाने विश्वास व्यक्त गर्छन्।
संघका एक कार्यसमिती सदस्यका अनुसार मेलाको एउटा प्रमुख आयस्रोत मध्यको बाल उद्यानसँग पनि पहिलाभन्दा करिब ५ लाख कम मूल्य लिएर भाडामा दिइएको छ।
‘यस पटकको मेला घाटामा जाने मेला हो, पहिला गरिने मेलाहरुमा कति फाइदा भन्ने हुन्थ्यो। तर यसपटक त घाटा नै हुने हो,’ ती कार्यसमिति सदस्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।