काठमाडौं– बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्।
माया लुहारको हत्यामा संलग्न भएको आरोपमा कोली कञ्चनपुरबाट पक्राउ परेका हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको मंसिर १४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
शिवनाथ गाउँपालिका–४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले कोली पक्राउ परेको पुष्टि गरे।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रुपमा कार्यरत छन्। पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने प्रहरी निरीक्षाक पन्तले जानकारी दिए।
गत बुधबार शिवनाथ गाउँपालिकामा माया घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। बजारमा कपडा किन्न भनेर भदैनीको साथमा गएकी माया घर नफर्केपछि खोजीका लागि आफन्तले प्रहरीलाई खबर गरेका थिए। मायाका साथै उनीकी भतिजी पनि गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। उनको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।