काठमाडौं– स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उनकी प्रत्यासी नेकपा एमालेकी पदमा अर्यालले शुभकामना दिएकी छन्।
तर शुभकामनासँगै उनले बूथ कब्जा गरेर विदेश गएका र मृत्यु भइसकेकाका नाममासमेत मत हालेर जितेको आरोप लगाएकी छन्। त्यसरी बूथ कब्जा गरी हालिएको मत आफूले स्वीकार नगर्नेसमेत बताएकी छन्।
उनले भनेकी छन्, ‘म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो। स्याङ्जा–२ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बूथ कब्जा भए, पुनः मतदान गरौं। साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो, मृतक र विदेशमा रहनेका नाममासमेत मतदान गरिएको थियो। हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं। त्यसलाई हामी सहज रुपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं। किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन्। हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाटसमेत पनि सुनुवाई भएन।’
अर्यालले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरण नगर्नसमेत सुझाव दिएकी छन। उनले भनेकी छन्, ‘युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस्, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुपयोग गरी प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सिर्जना गरी बूथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस्।’
उनले गुरुङलाई शालीन एवम् लोकतन्त्रमाथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको भए पनि निर्वाचनका दिन चापकोटको केही बूथमा भएका निर्मम दृश्यले उनीप्रतिको बुझाइ झुटो प्रमाणित भएको बताइन्। गुरुङलाई स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न नसकेको अर्यालले आरोप लगाइन्।
उनले सबैकुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताएकी छन्। ‘हामीले अगाडि बढाएका कयौं योजनाहरु छन्, तिनलाई पूर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवश्यक छन् त्यसका लागि हरदम साथ दिन तयार छु। राजनीति पेशा होइन सेवा हो, निरन्तर जनताकै बीचमा हुनेछु’, उनले भनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।