जनकपुर– नेकपा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले अवको ३ महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन्।
प्रेस चौतारी धनुषाले शुक्रबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासेठले नयाँ बन्ने सरकारले नागरिकतामा देखिएको समस्या समाधान गर्नु पर्नेमा जोड दिए। धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि महासेठले जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नागरिताको समस्यालाई लिएर एमालेले मधेसमा आन्दोलन गर्ने पनि बताए।
वर्तमान गठबन्धनको सरकारले केही समय अघि नागरिकता विधेयक संसद्मा पेस गरेको थियो। उक्त विधेयक २–२ पटक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो। पहिलोपल्ट प्रमाणीकरणका लागि पेस हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले फिर्ता गरेपछि पुन: प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विधेयक पारित गरी पुन: प्रमाणीकरणका लागि पेस गरिएको थियो। तर राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरिनन्।
महासेठ भने अब नागरिताको समस्या सामाधान गर्न सरकार अग्रसर हुनु पर्ने बताउँछन्। ‘नभए हामी त्यस बिषयमै मधेसबाट आन्दोलन उठाउने छौं,’ महासेठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।