काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्।
बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताए। तर अहिलेको अभिमतले स्थिरतालाई निरन्तरता दिन नसक्ने बताए।
आफूले देशमा स्थिरता प्राप्तिका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि त्यस्तो जनादेश नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए।
उनले भने, ‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो। यसपटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ। म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ। एउटा कार्यकाल उसको पोलिसीको आधारमा देशको नेतृत्व गरोस्। उसका नीतिहरुको व्यवहारिक रुपमा परीक्षण होस् भन्ने म चाहन्थेँ। तर चाहना माथि जनादेश छ। राजनीतिक स्थिरताका निमित्त त्यत्ति धेरै आशा गर्ने ठाउँ छैन।’
उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए। संविधान निर्माणपछि बनेका सरकारको कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने उनले माग गरे।
उहाँले नेकपा एमालेको गरेका उपलब्धि र कमजोरीको आफू जिम्मेवारी लिने पनि बताए। एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ? भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।