काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना करिब करिब अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना भएको छ। यो विवरण अनुसार हालसम्म २७ लाख २२ हजार ८३३ मत पाउँदै नेकपा एमाले पहिलो स्थानमा छ।
यस्तै २५ लाख ८६ हजार ६८० मत ल्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। उसले ११ लाख ४ हजार ७९० मत पाउँदा पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्याउन सकेको छैन। एकीकृत समाजवादीले हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।