काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले मत नदिएको निहुँमा आफ्ना मतदातामाथि विपक्षी दलका नेता–कार्यकर्ताले कुटपिट गरेको भन्दै आक्रोश पोखेका छन्।
निर्वाचनमा मतदान नगरेकै निहुँमा मंगलबार राति महोत्तरीको गौशाला नगरपालिकाको निगौलका स्थानीयमाथि टोलमै पसेर कुटपिट गरेको र अस्पतालमा उपचार गराइरहेका तिनै घाइतेहरूमाथि अस्पतालमै पुगेर कुटपिट भएको उनको भनाइ छ।
पूर्वमन्त्रीसमेत रहेका पोखरेलले वडा अध्यक्षको नेतृत्वमा आएको समूहले कुटपिट गरेको बताएका छन्। तर, ती वडाध्यक्ष को र कुन पार्टीका हुन भन्ने खुलाएका छैनन्।
‘निर्वाचनमा मतदान नगरेकै निहुँमा मंगलबार राति गौशाला नगरपालिकाको निगौलका स्थानीयमाथि टोलमै पसेर कुटपिट गर्नु, अस्पतालमा उपचार गराइरहेका तिनै घाइतेहरूमाथि अस्पतालमै पुगेर वडाध्यक्षको नेतृत्वको त्यही समूहले पुनः आक्रमण गरेको घट्नाले दुःखित बनाएको छ,’ उनले फेसबुकमा लेखेका छन्।
उनले कुटपिट भएका मानिसका तस्बिरसमेत सामाजिक सञ्जालमा राखेका छन्। जसमा उनीहरू रगताम्य छन्।
सत्ता गठबन्धनका उम्मेदवार रहेका पोखरेल महोत्तरी क्षेत्र नम्बर १ मा एमाले–जसपाका उम्मेदवार लक्ष्मी महतोसँग १ हजार ३० मतान्तरले पराजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।