काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा सीके राउतबीच भेटवार्ता भएको छ।
दुई नेताबीच बुधबार निधि निवास बानेश्वरमा भेट भएको हो। यसको पुष्टि निधिको सचिवालयले एक विज्ञप्ति जारी गर्दै गरेको छ।
भेटका क्रममा निधिले चुनाव जितेको राउतलाई बधाई दिँदै कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
‘प्रतिनिधि सभामा नव निर्वाचित सद्स्य एवम जनमत पार्टी अध्यक्ष डा सीके राउत बुधबार दिउँसो नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग बानेश्वरस्थित उहाँको निजी निवासमा भेटघाट गर्नुभयो। भेटघाटका क्रममा निधिले डा राउतलाई वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन र कांग्रेससँग संघमा र प्रदेशमा सरकार गठनमा सहभागी हुन प्रस्ताव गर्नुभयो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रस्तावमा डा राउत आफू पूर्ण सकारात्मक रहेको बताउनुभयो।’
यस्तै, राउतले गठबन्धनसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि बताएको विज्ञप्तिमा उल्लेख छ।
राउत सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।