बाजुरा- मतदानकै विषयलाई लिएर विवाद भएका दुई जिल्ला बाजुरा र स्याङ्जा- २ को मतगणना गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। तर, बाजुराको मतगणना सुरु हुने सम्भावना अझै न्यून रहेको छ।
बाजुरामा नेपाली कांग्रेसले ‘बुथ कब्जा’ गरेको भन्दै एमालेले पुन: मतदानको माग गरेको थियो। एमालेले १७ वटा बुथमा धाँधली भएको आरोप लगाएको छ। नेपाली कांग्रेसले पनि ६ बुथमा एमालेले धाँधली गरेको आरोप लगाएको छ।
विवादलाई लिएर निर्वाचन आयोगले स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि आयोगले पुन: मतदान गर्नु नपर्ने निर्णय गरेको हो।
तत्काल मतगणना हुने सम्भावना न्यून
बाजुरामा तत्काल मतगणना सुरु हुने सम्भावना भने न्यून रहेको छ। मतदानकै दिन त्रिवेणी नगरपालिकामा दुई जनाको ज्यान गएको थियो। सञ्जीव अयडीको प्रहरीको गोली लागेर ज्यान गएको थियो भने चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटाइबाट हत्या भएको एमालेको आरोप छ।
प्रमाणसहित किटानी जाहेरी दिँदा पनि आरोपी पक्राउ नपरेका कारण एमालेले बुधबारदेखि रिले अनशन थालेको छ। उक्त घटनाका आरोपीमध्ये दुईजना पक्राउ परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।
मुख्य अभियुक्त जोगाउन खोजिएको भन्दै एमालेले मंसिर ५ गतेदेखि नै आन्दोलन गरेको थियो। आन्दोलनका क्रममा एमालेका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। हत्याका आरोपीलाई पक्राउ गर्नुपर्ने मागसहित गरिएको आन्दोलनबाट आफ्नो कार्यकर्ता पक्राउ गरेर उल्टै अन्याय गरेको भन्दै एमालेले आन्दोलनलाई निरन्तरता दिएको छ।
आयोगको निर्णय जानकारी पाएपनि मतगणना तत्काल हुने सम्भावना नरहेको एमाले बाजुराका संगठन विभाग प्रमुख अमर खड्का बताउँछन्। उम्मेदवारहरु एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापालगायतका नेताहरु अनशनमै रहेको उनले बताए।
भर्खरै निर्णय आएकाले बैठक नबसे पनि मृतक चेतन अयडीका हत्यारालाई पक्राउ र न्यायको माग गर्नेहरुलाई नि:शर्त रिहा नगरुन्जेल मतगणनाका विषयमा हुने बैठकमा सहभागी हुने सम्भावना कम रहेको उनले बताए।
प्रतिनिधि सभामा एमालेबाट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।