एएफपी/गेट्टी ईमेज
तेहरान– २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलको कारबाहीमा परेर कम्तीमा ४४८ जना मारिएका छन्।
विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ। नर्वेको इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका ४४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन्। १८ वर्ष मुनिका ९ जना किशोरी (बालिका) पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।
समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्षाकर्मीको कारबाहीमा १६ जनाले ज्यान गुमाएका थिए। मारिएकामध्ये १२ जना कुर्दिस जनसङ्ख्या अधिक भएको इलाकाका हुन्। ती इलाकामा अहिले पनि हिंसात्मक प्रदर्शन जारी छन्। दोहोरो झडपमा मारिएका नागरिकको सङ्ख्या मात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश गरिएको छैन।
इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सका ब्रिगेडियर जनरल अमीराली हज्जिजादेहले विरोध प्रदर्शनका क्रममा ३०० जना मारिएको बताएका छन्। सरकारीस्तरमा पहिलोपटक हताहतीको विवरण सार्वजनिक भएको पनि अरब न्युजले जनाएको छ।
उपयुक्त ढङ्गले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ परेकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो। उनको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोधप्रदर्शन भड्किएको छ। धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन्। यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।