काठमाडौं– मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवादित बनेको स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना हुन सकिरहेको छैन।
यी दुई क्षेत्रमा विवाद देखिएपछि निर्वाचन आयोगले स्थलगत अनुगमन गरेको थियो। स्थलगत अनुगमनका क्रममा निर्वाचन आयुक्तहरुले ल्याएको प्रतिवेदनबारे मंगलबार छलफल भएको थियो।
मंगलबार बसेको बैठक निष्कर्षविहीन भएको थियो। आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको आयोगको स्रोतले जनाएको छ। बैठकको सुरुवातमा स्याङ्जा–२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो।
प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो।
वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो। निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरूको मत बाझिएको थियो।
केही आयुक्तहरु बाजुरा र स्याङजामा पुन: मतदान गर्नुपर्ने पक्ष र केही मतदान नभइ मतगणनाको पक्षमा उभिएपछि बैठक निष्कर्षविहीन भएको थियो।
मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा समेत केही आयुक्तको रहेको छ।
बाजुरा र स्याङ्जाको विषयको विवाद टुंग्याउनका लागि बुधबार बिहान ११ बजेदेखि बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।