काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको अभिव्यक्ति दिएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कटाक्ष गरेका छन्। उनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको आरोप लगाएका छन्।
बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाएका छन्। बालेनले ओलीबाट यस्तो प्रतिक्रिया आउनु सामान्य विषय भएकोसम्म भनेका छन्।
एमाले अध्यक्ष ओलीले मंगलबार पार्टी कार्यलयमा पार्टीनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजित गरेको बधाई तथा शुभकामना कार्यक्रममा सुकुम्बासी हाम्रा दाजुभाइ–दिदीबहिनी रहेकाले शत्रु घोषण गरेर गोद्नु, ठोक्नुपर्ने नभएको अभिव्यक्ति दिएका थिए।
यस्तो छ बालेनको जवाफः
सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईँको धारणा थाहा पाएँ । तपाईँबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।