काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलबार साँझसम्म ९८ लाख २१ हजार ५६१ मत गणना सम्पन्न भएको छ।
निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४६ हजार ४४९ मत प्राप्त गरेको छ। त्यसपछि बढी नेपाली कांग्रेसले २५ लाख हजार सात सय १५२ मत पाएको छ।
नेकपा (माओवादी केन्द्र) ले ११ लाख २८ हजार ९०७, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ८५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार ५३४, जनता समाजवादी पार्टी नेपालले ३ लाख ७८ हजार १५०, जनमत पार्टीले ३ लाख ३६ हजार ३८, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ७७ हजार ५०३ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४६ १३६ मत प्राप्त गरेको आयोगले जनाएको छ।
यस निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो।
राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ।
प्रतिनिधि सभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा ३ लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। अहिलेसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन्।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट ३ प्रतिशतभन्दा बढी मत कटाएका छन्।
पछिल्लो मतगणनाको तथ्याङ्कको आधारमा नेकपा (एकीकृत समाजवादी) २ लाख ७७ हजार ५०३ र राष्ट्रिय उन्मुक्ति पार्टीले २ लाख ४६ हजार १३६ मत प्राप्त गरेका छन्।
२०७४ मा ५ राष्ट्रिय दल
विसं २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ५ दलले निर्वाचन ऐनले तोकेको थ्रेसहोल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए। सो निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका थिए।
उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४९४, कांग्रेसले ३१ लाख २८ हजार ३८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१, राजपा नेपालले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।