काठमाडौं– सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यही मंसिर २० गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख ६० हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो।
आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का स्थानीयवासीका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता सेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ।
त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।
स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको भनाइ छ।
कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
लगानीकर्ताले एनसीसी बैंक, कुमारी बैंक तथा माछापुच्छ्रे बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजनास्थलबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारिमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।