काठमाडौं– नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताए।
शुक्रबार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिस्पर्धी बनाउनका लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताए।
उनले उद्योग प्रतिस्पर्धी नभएसम्म उद्योग फस्टाउन नसक्ने, उद्योगमा उत्पादन वृद्धि भएर निर्यात नबढाएसम्म मुलुकमा व्यापार घाटा चुलिँदै जाने बताए। मुख्य सचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा बाह्य दबाब रहेकाले अवस्था असहज रहेको बताए।
उनले बाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे। अर्थतन्त्र तथा उद्योग क्षेत्रमा रहेका समस्याको सबैले पहिचान गरिसकेकाले निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने उनको बुझाई छ।
उनी भन्छन्, ‘अहिले हामी असहज परिस्थितिमा छौं। नेपालको मात्रै नभएर विश्वकै अवस्था त्यस्तै रहेको छ। खासगरी बाह्य क्षेत्रको असरले अर्थतन्त्रमा केही असर देखिए पनि धेरै लामो समय रहँदैन भन्ने सरकारको विश्वास छ। त्यसैले समस्या समाधानको लागि निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्छ।’
उनले नेपालमा भएका उद्योगको क्षमताले नभ्याएको हुनाले लगानीमैत्री वातावरण बनाएर वैदेशिक लगानी ल्याउन सक्नुपर्ने बताए। उनले नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती नीति कार्यान्वयन भएको स्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।