काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) 'निर्वाचित' भएका छन्।
करिब पाँच हजार मात्र मतगणना हुन बाँकी रहँदा उनी 'विजयी' भएका हुन्। यद्यपि निर्वाचन आयोगले आधिकारिक रुपमा केही बेरमा घोषणा गर्ने जानकारी दिएको छ। हालसम्म जुम्लामा ४० हजार ७४३ मतगणना भएको छ।
जसमा शाहीले २० हजार ४३६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेकी गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले १० हजार ४३६ मत प्राप्त गरेकी छन्। शाहीले गठबन्धनकी उम्मेदवारभन्दा ९ हजार ४ सय ९२ बढी मतको अग्रता लिएका छन्।
हालसम्मको मतगणनामा नेकपा एमालेका रतननाथ योगीले भने ५ हजार ७८० मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले ८५० मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार जम्मा खसेको मतमध्ये हालसम्म २,२५५ मत बदर भएको छ। जम्मा ४५ हजार ६५ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।