काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार देश छोड्नेहरूको लर्को थियो। चुनावको अघिल्लो दिन यसरी परदेशिने मन उनीहरूको पटक्कै होइन।
साँझ ८ बजेको फ्लाइट पर्खिबसेका नवलपुरका दीपेन्द्र थापा दिउँसो १ बजे विमानस्थलमा भेटिए। उनको विदाइमा छाड्न काठमाडौंसम्म परिवार आउन पाएन। किनकि आइतबार चुनाव छ। दीपेन्द्रको गन्तब्य सिंगापुर हो। ८ वर्षदेखि उनी सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए उता।
कोभिड महामारीको बेला आफू कार्यरत कम्पनी बन्द भएपछि उनी घर आएका थिए। बेरोजगार भएर बस्दाको सकस कम पीडादायी थिएन। धन्न, अहिले फेरि कम्पनी खुल्यो र दीपेन्द्रलाई बोलायो।
यसपालि दीपेन्द्रलाई भोट हाल्ने मन त थियो। ‘परदेशिनु हाम्रो बाध्यता हो। त्यही भनेर चित्त बुझाइरहेको छु,’ दीपेन्द्र भन्छन्।
नयाँ अनुहारका उम्मेदवार देख्दा उनी उत्साहित थिए। पुराना अनुहारसँग उदासिन भइसकेका उनी नयाँ पुस्ताको नेतृत्व चाहन्थे। ‘गाउँमा राजनीति वंशको विर्ता जस्तो भइसकेको थियो। बुवा जुन पार्टीको छोरा पनि उही पार्टीको हुनुपर्ने। यसले विरक्त बनाइसकेको थियो,’ दीपेन्द्र भन्छन्।
तर, नयाँलाई जिताउन मन भएर पनि मत हाल्न नपाउनुको पीडा दीपेन्द्र पोखिरहेका थिए। कम्पनीले आजकै फ्लाइट निश्चित गरिदिएछ। ‘हाम्रो देशमा के भइराखेको छ, अन्य मुलुकलाई चासो पनि त छैन,’ दीपेन्द्र भन्छन्।
हरेक पाँच वर्षमा एकपटक आउने चुनाव उत्साहजनक हुनुपर्ने हो! तर उनको परिवारमा त्यो उत्साह छैन। ‘चुनाव पो एकदिन आउँछ। दुःख सधैँँभरि आउँछ,’ दीपेन्द्र सुनाउँछन्।
तानसेनका किशोर जोशीको गन्तब्य पनि सिंगापुर नै हो। उनी पनि साँझ ८ बजेको फ्लाइट पर्खिरहेका थिए। उनी सिंगापुरमा पानी जहाजमा काम गर्छन्। उनका अनुसार ९ वटा पानी जहाजमा करिब २ हजार नेपाली कार्यरत छन्।
उनलाई पनि यो चुनावमा भोट हाल्न मन थियो। उत्साहित भएर भोटर ककार्ड पनि बनाए। तर भोट हाल्ने अघिल्लो दिन कम्पनीले बोलाउँदा मन खिन्न भयो।
देशको व्यवस्थासँग उनको थुप्रै गुनासो छ। नेपालमा सम्भावना नदेखेर विदेश हानिएका उनी श्रीमती र छोराछोरीसहित उतै बस्छन्। ‘सेवा सुविधा छ भन्दैमा अरुको देशमा बस्दा मन सधैँं कहाँ रमाउँछ र ?’ उनी भन्छन्।
झापा दमककी माया उरावँ(४०) दसैंअघि नेपाल आइन्। उनी वैदेशिक रोजगारीका क्रममा ओमन पुगेको पनि चार वर्ष भइसकेको छ। पहिलो पटक विदामा नेपाल आएकी हुन् उनी। नेपाल छँदा चिया बगानमा काम गर्थिन्। यहाँको कमाइले घर नधानेपछि ओमन उडिन्। उता घरेलु कामदारका रुपमा काम गर्छिन् माया। पुनः फर्कदै गरेकी उनलाई चुनावले छोएकै छैन। भोट त हालेकी छन् उनले, तर आफ्नो इच्छामा हैन। ‘गाउँका नेताले जता भन्यो उतै भोट हालियो। अब भोट हालेर केही हुन्न भन्ने पनि थाहा पाइसकियो,’ उनले भनिन्।
परिवारका सदस्यको साथमा विमानस्थलको भित्र छिर्ने लाइनमा छन् इटहरीका भुवन थापा (२२)। गलाभरि खादा ओडेका छन् भुवनले। उनलाई छाड्न आएका परिवाको आँखा भने भिजेका छन्। पहिलो पटक भोट हाल्ने अवसरबाट वञ्चित हुँदा खल्लो पनि लागेको छ भुवनलाई।
‘देशमा रोजगारी भएको भए चुनावको मुखैमा विदेशिनु पर्दैन थियो,’ भुवन भन्छन्।
चितवन गड्यौलीका सुमन थापा (२२)ले पनि यसपालि मतदान गर्न पाएनन्। उनलाई विमानस्थलसम्म विदाइ गर्न दिदी आएकी छन्। देशमा भविष्य नदेखेपछि विदेशिन बाध्य भएको सुमन बताउँछन्।
‘चुनाव त आउँछ, तर हामीजस्ता युवालाई देशमै रोक्न सक्दैन,’ उनी निराश सुनिए।
तस्बिर : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।