काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट बाग्लुङ- २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता एवं मन्त्री देवेन्द्रराज पौडेल निर्वाचनको दिन आउन लाग्दा पनि ढुक्क हुन सकेका छैनन्।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ पाएर उनी आफ्नै पार्टीका पूर्व सहकर्मीका कारण ढुक्क हुन नसकेका हुन्। उक्त क्षेत्रमा माओवादी केन्द्रकै तुल्सीराम अर्यालले बागी उम्मेदवारी दिएका छन्।
आफ्नै पार्टीका विद्रोही उम्मेदवारको डरका बीच उनी यतिबेला घरदैलोदेखि कार्यकर्ता फकाउनमा व्यस्त छन्।
बागलुङ- २ मा एमालेले भर्खरै कांग्रेसबाट पार्टी प्रवेश गरेकी गरेकी मञ्जु शर्मालाई उम्मेदवार बनाएको छ। महिला अनि नयाँ अनुहार समेत भएकाले उनले आफूलाई बलियो उम्मेदवारको रुपमा प्रचार गरिरहेकी छन्। उनले यसको फाइदा पनि उठाउने एमालेको आकलन छ।
पौडेल २०७४ सालमा निर्वाचित भएर मन्त्री समेत भएकोले जनमत उनी अनुकुल छैन। यही असन्तुष्टिलाई मञ्जुले क्यास गर्न खोजेकी छन् भने पौडेल उक्त कुरा भ्रम मात्र भएको भन्दै चिर्न छन्।
को हुन मञ्जु?
४८ वर्षीय मञ्जुको पृष्ठभूमि सरकारी जागिरसँग जोडिएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गलकोट नगरपालिकाको मेयरमा टिकट पाउने अपेक्षासहित जागिरबाट राजीनामा दिएकी थिइन्।
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी उनी पराजित भइन्। त्यसपछि एमाले प्रवेश गरेकी मञ्जु एमाले प्रवेश गरी अहिले प्रतिनिधि सभामा उम्मेदवार बनेकी हुन्।
को हुन् पौडेल?
५७ वर्षीय पौडेल नेकपा माओवादी केन्द्रका सचिव हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनी अखिल क्रान्तिकारीको अध्यक्ष पनि भएका थिए। २०५२ बाट तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका पौडेल २०७४ मा पहिलो पटक सांसदमा निर्वाचित भएका थिए।
वर्तमान शिक्षा मन्त्री रहेका उनी २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए।
स्थानीय तहको मत
पौडेलले २०७४ सालमा एमालेको सहयोगमा कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई ८ हजार ९२२ मतान्तरले पराजित गरेका थिए। तत्कालीन समयमा वाम गठबन्धनका उम्मेदवार बनेका उनी यस पटक कांग्रेसको साथ लिएर एमाले विरुद्ध मैदानमा छन्। मन्त्री भए पनि आफ्नो निर्वाचन क्षेत्रलाई नहेरेको र परेका योजनासमेत काटेको आरोप स्थानीयले लगाएका छन्।
खर्वाङ बजार जोगाउन बडिगाड खोलामा तटबन्ध गर्ने बहुवर्षे योजना पौडेल मन्त्री बनेपछि काटिएको स्थानीय बासिन्दाको आरोप छ। एमालेले यही मुद्दा उठाइरहेको छ।
मन्त्री पौडेलविरुद्ध माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले बागी उम्मेदवारी दिएका छन्। पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने अर्यालले पौडेलको मत काट्ने भन्दै एमाले हौसिएको छ।
स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा एमालेभन्दा सत्तारुढ गठबन्धन ९ हजार ९३० मतले अगाडि छ। स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार ४३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार ५०८ पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।