काठमाडौं– प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विरुद्ध परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शर्माविरुद्ध उजुरी परेको थियो।
महामन्त्री शर्माले अग्निपिडितलाई पैसा बाँढेको विषयलाई लिएर आयोगमा उजुरी परेपछि आयोगले शर्मालाई स्पष्टीकरण सोधेको थियो। शर्माले स्पष्टीकरण पेस गर्दै जेठमै सहयोग गरेको र पीडितलाई थप सहयोग आएकोले हस्तान्तरण मात्र गरेको जानकारी गराएपछि आयोगले आचारसंहिता विपरीतको गतिविधि नदेखिएकोले तामेलीमा राख्ने निर्णय गरेको बताएको छ।
आयुक्त राम प्रसाद भण्डारीको इजलासले उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो। भण्डारीको इजलासले गरेको निर्णयमा भनिएको छ, ‘मिसिल संग्लन कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता, २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिँदा प्रस्तुत उजुरी तामेलीमा राखी दिने ठहर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।