काठमाडौं– काठमाडौं महानगरपालिकामा प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरूको उद्धार र व्यवस्थापनमा प्रतिबद्ध रहेको बताएका छन्।
सहयोगापेक्षी मानव व्यवस्थापनका लागि काठमाडौं महानगरले मानव सेवा आश्रमसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा उनले यस्तो बताएका हुन्।
नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करिब १८ रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण गर्न काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानव सेवा आश्रमविच सम्झौता भइसकेको छ। भवन निर्माणका लािग स्रोत महानगरको, जग्गा प्राप्ति गर्ने नागार्जुन नगरपालिकाको र निर्मित भवनमा मानवीयताका काम गर्ने आश्रमको दायित्वसहित सम्झौता भएको हो।
भवन बनाउन प्रस्ताव गरिएको जग्गा अहिलेसम्म नगरपालिकाले स्वामित्व र भोगाधिकार प्राप्त गरेको छैन। बैठकमा यस विषयमा छलफल गर्दै नगरपालिकालाई जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय गरिएको महानगरले जनाएको छ।
बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, आश्रमका अध्यक्ष रामजी अधिकारीसहित महानगर र आश्रमका अधिकारीहरूको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।