काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ।
महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन्।
ब्याजदर एक अंकमा हुनुपर्ने बताएको महासंघले बैंकहरूले लिलामबिक्रीको आतंक मच्चाएको आरोपसमेत लगाएको छ।
करोडौं रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरूले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ। संकटको बेलामा सामान्य मानवियतासमेत बैंकहरूले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनुपर्ने बताएको छ।
‘संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडांै मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ’, अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ।’
बैंकहरूले ओडी लगायतका कर्जा ठप्पै बनाउँदा धेरै व्यवसायी व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।
ब्याजदरमाथि हस्तक्षेप मूख्य अजेन्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी व्यवसायीहरूलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।