काठमाडौं– बिमा कम्पनीहरूको नियामक निकाय बिमा समिति बिमा प्राधिकरणमा रुपान्तरण भएको छ। बिमा ऐन ०७९ को व्यवस्था बमोजिम कात्तिक २२ देखि साविकको समिति प्राधिकरणमा रुपान्तरण भएको हो।
मंगलबार एक कार्यक्रमबीच अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको औपचारिक रूपमा शुभारम्भ भएको घोषणा गरेका हुन्।।
यसअघि, नेपालको बिमा नियमनकारी निकायका रुपमा बिमा समितिबाट भएका सम्पूर्ण काम कारबाही अब नेपाल बिमा प्राधिकरणबाट गरेको वा भएको मानिने उनले बताए। बिमा समिति खारेज भएपनि बहालवाला अध्यक्ष तथा सदस्यहरू नयाँ ऐन लागू भएपछि स्वतः प्राधिकरणको अध्यक्ष र सदस्य रहने व्यवस्था छ। ती व्यक्ति आफ्नो कार्यकालभर सोही पदमा बहाल रहनेछन्। बिमा समितिमा रहेका कर्मचारी पनि स्वतः प्राधिकरणका कर्मचारीमा परिणत भएका छन्।
नयाँ ऐनले प्राधिकरण बिमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र प्राधिकरणले नेपाल सरकारको बिमासम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्ने व्यवस्था गरेको छ। ऐनले नेपाल बिमा प्राधिकरणलाई थप अधिकारसहित स्वायत्त बनाएको अध्यक्ष सिलवालले बताए।
ऐनमा बिमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बिमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बिमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरू प्राधिकरणमा निहीत रहेका छन्।
यस्तै, आर्थिक रुपमा विपन्न वर्गका नागरिकसम्म बिमाको पहुँच पुर्याइ यसका माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि बीमा प्राधिकरणमा एक बिमा विकास कोष रहने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।