लोथर/चितवन– पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर। पूर्व–पश्चिम हाई–वेबाट दक्षिणतर्फको लोथर बस्तीमा सोमबार मध्याह्न चुनावी सरगर्मी निकै बढ्दो थियो।
नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे घरदैलो कार्यक्रममा व्यस्त देखिन्थे। गलामा माला, निधारमा अबिरले रंगिएका पाण्डे असिन पर्दै मतदाताको घर दैलोमा व्यस्त भेटिए। चितवनको उखरमाउलो गर्मी यतिबेला मत्थर भए पनि पाण्डे असिन–पसिन देखिन्थे।
पाण्डेको घरदैलो अभियानलाई हामीले पनि पच्छ्यायौं। हाई–वे बाट लोथर बस्ती पस्नेबित्तिकै आउने अधिकारी टोलबाट हामी पाण्डेसँगै मिसिँदै उनको अभियानलाई नियाल्यौं।
करिब ७० वर्ष काटेका जीतबहादुर अधिकारी दम्पतिले करेसाको फूल टिपेर पाण्डेलाई सिउरिँदैे आर्शिवाद दिए। शुभकामना दिँदै भने— हामीलाई हेर्नुपर्छ।
पाण्डेले जवाफ फर्काए—त्यहीँ भएर आइपुगेँ।
अधिकारी आमाले पाण्डेलाई फूल सिउरिदिएकी थिइन्। पाण्डेले भने आफ्नो गलाको माला झिकेर उनलाई लगाइदिए। निकै हतारमा रहेका पाण्डे अघि बढ्दै गए। हामीले एकछिन् अधिकारी दम्पतिको आशय बुझ्न खाज्यौं।
‘उम्मेदवार त तपाईं हुनुभएजस्तो माला लगाउनु भयो त?’ ठट्यौंली पारामा केही फुत्किहाल्छ कि भन्ने आशय हाम्रो थियो। ‘बुढी आमा भनेर लगाइदिएको रे’ अधिकारी आमा फिस्स हाँसिन्।
यही मेसोमा हो हो मिलाइदिए जीतबहादुर बा ले पनि–‘हामी भएको ठाउँमा अहिलेसम्म कोही आएका छैनन्। आउने जतिलाई हुन्न भन्दैनौँ। सबैलाई हुन्छ भनेका छौं। दिने बेला देखिएला। जसले दुःखमा हेरेको छ उनैलाई दिन्छौं।’ अधिकारी दम्पतिको एउटै स्वर देखियो।
लोथर क्षेत्र एमालेको राम्रै प्रभाव क्षेत्र रहेछ। पाण्डे सकड वारिपारिका घरमा पालैपालो पुग्थे। हामी उनी र मतदाताका गतिविधि नियाल्थ्यौं। भोटको मूल्य दुईपटक बुझिसकेका पाण्डे लोथरका घर सकभर नछुटाउने प्रयासमा थिए।
सोही क्रममा भेटिए पाण्डेसँग आँसु साट्दै गरेका एक बृद्ध। उनका आँसु पाण्डेले गरेका कुनै कामबाट प्रभावित भएर खुसी हुँदै झरेका होइनन्, बरु उनको पार्टीले गरेका कामबाट खुसी हुँदै उनका आँसु खसेका रहेछन्। आँसु झार्दै उनले भने, ‘हामीलाई बृद्धाभत्ता दिने पार्टी।’
पाण्डे लोथरतर्फको पूर्वी भाग अझ अघि बढ्दै गए। साइकल निकालेर कतै निस्कन लागेका एक बृद्ध भेटिए। उनीसँग हात मिलाउँदै भोट माग्न अघि बढेका पाण्डेलाई उनले प्रश्नै—प्रश्न फाले। ‘किन भोट दिने? कति पटक दिने? के–के भयो? हामीलाई पनि थाहा छ। यो पटक यो ठाउँको डेढ दुई सय मत यताउता पारिन्छ।’
उनी यतिमै रोकिने छाँटकाँटमा थिएनन्। पाण्डेलाई घरदैलो अभियानमा सहयोग गरेको स्थानीय युवाको टोलीले उनलाई थामथुम पारेर अघि बढ्यो। हामी भने उनको असन्तुष्टि खोज्नेतर्फ लाग्यौं।
पाण्डेलाई हप्काउने ती वृद्ध रहेछन् ७३ वर्षीय होमबहादुर पाठक। उनले हामीसँग पनि दोहोर्याए— ‘मैले दुई, पाँच सय भोट त यताउती पार्न सकिन भने कान काटेर फाल्दिन्छु। यो ठाउँमै बस्दिनँ। म त्यति च्यालेन्ज दिने मान्छे। तर, यीनीहरुले मलाई पुछेको छैन। पर्र्सी ४ गते थाहा हुन्छ।’
उनले हामीलाई राप्ती १ को गत वैशाखको स्थानीय चुनावबारे सुनाउँदै भने— ‘१६५ भोट मात्रै अस्ती अन्त गयो।’ एमालेबाट असन्तुष्ट भएका पाठक यो पटक भने आफ्नो मत बदल्ने अडानमा देखिए।
‘जितेर गएपछि केही गर्नु भएकै छैन। देखेकै आज हो। सुरेन्द्र पाण्डे हो कि कुन पाण्डे हो। जुँगा चाहिँ छ’ पाँच वर्षमा एकपटक भेट हुँदाको रोष पाठकले फाले। उनी अझै कड्किदै गए। आफूमात्र मत नदिने नभइ अरु मत समेत गडबढ गराउने उनको चेतावनी थियो।
हामी पाण्डेलाई पच्छ्याउँदै डीपाट टोल पुग्यौं।
छोरी बोकेर बाटोमा हिँड्दै गरेका युवाले पनि जितेपछि केही नगरेको दुखेसो पोखे। डीपाट टोलमै पाण्डे मत माग्दै थिए। सोही मेसोमा पुगिन् कल्पना सिलवाल न्यौपाने।
पाण्डेले आफ्नो शैली अनुसार कल्पनासँग मत माग्दै थिए।
‘तपाईंले मत पाउन पहिला त हामी बाँच्नु पर्ला नि। हामीलाई बचाउनका लागि के गर्नुभयो?’ प्रश्नको तिर कल्पनाले पाण्डेमाथि फाल्दै थिइन्, सँगै उभिएका कल्पनाका छोराले पाण्डेलाई सिधैं भन्दिए, ‘यो पटक त एमालेलाई हुँदैन। भोट अन्तै जान्छ।’
पाण्डेसँग जवाफ फर्काइरहने समय पनि नभएर हो वा जवाफ नभएर हो केही नभनी अघि बढे। पाण्डेको टोली बिदा भएपछि कल्पनाले छोरालाई भनिन्, ‘हाल्ने अन्त भए पनि अहिले भन्नु हुन्न। अहिले नै किन निराश बनाउनु।’
घरदैलो अभियानका क्रममा पाण्डेको टोली साँझपख लोथरकै देउराली चोक पुगेर कोणसभामा परिणत भयो।
कोणसभामा मन्तव्य राख्नुभन्दा पहिला जुर्यो स्थानीय एक किशोरीको जन्मदिनको विशेष अवसर। उभिएरै ती किशोरीलाई माला लगाइदिएर पाण्डेले शुभकामना दिए।
घरदैलोमा दौडधुप गर्नु, गाली पचाउनु, हौसला पाउनु, स्थानीयका साना कार्यक्रममा पनि सरिक हुनु यस्तै शैलीमा पाण्डेको अहिले दैनिकी बितेको छ।
आफ्ना घोषणापत्र भएका आकर्षक कार्यक्रमदेखि स्थानीयस्तरमा गरिने विकास कार्यक्रमको मन्तव्य पाण्डेले राखेर कुरोको बिट मारे। हौसला र आक्रोश दुवै मिश्रित पाण्डेको सोमबारको घरदैलो कार्यक्रम सकियो।
नेता आउँदा छैन उत्साह, घरबाट सडकमासमेत निस्कँदैनन् मतदाता
सोमबार मध्यान्यहबाट साँझसम्म पाण्डेको चुनावी अभियानलाई हामीले पच्छ्याउँदा मतदाता भने त्यति उत्साहित देखिएनन्।
पर्चा पम्प्लेट, ब्यानर र गाडीमा माइकिङ गर्दै निकै उत्साहित भएर पाण्डे आफ्नो टीमसहित घरदैलो अभियानमा थिए। उनी प्रत्येकजसो घर नछुटाई पस्ने गर्थे। तर मतदाता भने नेता आए भनेर घरबाट सडकसम्म निस्केर स्वागत गर्ने गरेको देखिएन। फाट्टफुट्ट घरहरुमा भने घडा बनाएर स्वागत गरेको देखिए पनि अधिकांशजसो भने घरबाट सडकसम्म निस्किएनन्।
अझ कतिसम्म भने आफ्नो ठाउँको उम्मेदवार मत माग्दै घर–घर पुग्दासमेत तास खेलिरहेका एक हुल तन्नेरीलाई भेट्न पाण्डे घरमै पुग्नुपर्यो। उनीहरुमा को नेता उठ्यो, किन उठ्यो, पहिलाका बाचा पूरा गर्यो कि गरेन, प्रश्न किन नगर्ने जस्ता विषयको कुनै चिन्ता थिएन।
तासमा मग्न उनीहरु सायद जतिसक्दो चाँडो नेता पाण्डे बिदा होउन् भन्ने चाहन्थे। पाण्डेको भोट माग्ने शैली भने आफ्नै छ। उनीसँग हिँडेका स्थानीय युवाहरु नै घर–घर पसेर मत माग्छन्। बृद्धबृद्धा देखे–‘तपाईंलाई बृद्धाभत्ता दिलाउने पार्टी, व्यक्ति, युवादेखि सोही अनुसारका वचन र आश्वासन’ दिन्छन्। पाण्डे भने नमस्कार र ह्याण्डसेक गर्दै अघि बढ्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।