पोखरा– गण्डकी प्रदेश सरकारले यसअघि आफैँले गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ। प्रदेश सरकारको सोमबारको मन्पिरिषद् बैठकले करको दर घटाउने निर्णय खारेज गरेको हो।
निर्वाचन आयोगले निर्वाचनको मुखैमा आचारसंहिता उल्लंघन हुनेगरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थ सचिवलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कात्तिक १६ गते निर्वाचन आयोगले करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न प्रदेश सरकारलाई निर्देशन दिएको थियो।
आयोगको पत्र भने आइतबार बिहान ११ बजेमात्र प्राप्त भएको बताइएको छ। पत्र आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो। यसबारेमा आयोगलाई सरकारले सोमबार नै जानकारी गराउने तयारी गरेको छ।
आर्थिक ऐन ०७९ मार्फत घरजग्गा नामसारी कर तथा सवारी साधन करमा भारी वृद्धि गरेको थियो। जसको जनस्तरबाट तीव्र आलोचना भएपछि असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा बढेका करको दर घटाउने निर्णय गरेको थियो। जुन असोज २७ मा राजपत्रमा प्रकाशित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।