काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ बराबरको रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दति निक्षेपमा राख्न लागेको जानकारी दिएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दति निक्षेपमा राख्न लागेको हो।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा तीन करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड २५ लाख रुपैयाँ बराबरको रकम मुद्दति निक्षेपमा राख्न लागेको हो।
आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ। आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ। यही कात्तिक २७ देखि ०८० को कात्तिक २७ सम्म तीन सय ६६ दिन उक्त रकम मुद्दति निक्षेपमा राखिने छ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेछ। कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।