काठमाडौं– लाभांश घोषणा र चुनावी माहोलका कारण अघिल्लो हप्ताबाट सेयर बजार सकारात्मक देखिएको छ। गत हप्ताको ४ कारोबार दिन हरियाली छाएको सेयर बजारमा यस हप्ताको पहिलो कारोबार दिन आइतबार पनि हरियाली देखिएको छ। अहिल्लो हप्ता आइतबारदेखि बुधबारसम्म बढेको सेयर बजारमा बिहीबार भने सामान्य करेक्सन देखिएको थियो।
हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
आइतबार नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन २२८ स्टकको २७ हजार ७६८ पटकको कारोबारमा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको ३९ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज एभरेस्ट बैंकको ७ करोडभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आज एभरेस्ट बैंकले लाभांश वितरणको घोषणा गरेको थियो।
आज सबैभन्दा धेरै सेयरमूल्य १० स्टकहरुको सूचीमा ९ वटा लघुवित्त परेका छन्। जसमध्ये ४ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, यस दिन उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर भने साढे २ प्रतिशत भन्दा कम रहेको छ।
लघुवित्त कम्पनीहरुको सेयरमूल्य उच्च दरमा बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य र वित्त उपसमूहको परिसूचक पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।