धनगढी– जिल्ला निर्वाचन कार्यालय, कैलालीले जिल्लामा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मत बदर हुन नदिन कार्यालयले स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाएको कार्यालयले जनाएको छ। यसैक्रममा शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकास्थित सुख्खडमा नमुना मतदान गरिएको थियो। उक्त मतदानमा शत प्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो। प्रदेश निर्वाचन कार्यालय, धनगढीको आयोजनामा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहेका स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए। नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए। उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए।
यसअघि, कैलाली ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो। जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ।
शुक्रबारबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयम्सेवी परिचालन गरिएको उनले बताए।
स्थानीय तहबाट निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको हो। निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा खटाएका छन्।
मत बदर हुनुको प्रमुख कारण मतदाता शिक्षाको अभाव रहेको बोराडाँडीकै स्थानीय तथा सेवा निवृत शिक्षक नारायण पन्थीले बताए। सरकारले सञ्चारमाध्याममार्फत मतदान गर्ने प्रक्रियाका बारेमा केही जानकारी गराएको भए पनि गाउँघरका धेरै मानिस सञ्चार माध्यामको पहुँचमै नरहेको उनी बताउँछन्।
‘खेतबारीमै व्यस्त हुने मानिस सञ्चारमाध्यममा जोडिने फर्सद नै पाउँदैनन्,’ पन्थीले भने, ‘निर्वाचन आयोगले ती समूहलाई बेवास्ता गरेकोजस्तो देखिएको छ, उम्मेदवारले पनि भोट मात्रै माग्ने तर कसरी मतदान गर्ने भन्ने विषयमा ध्यानकेन्द्रित गरेका छैनन्, यसले धेरै मत बदर हुन सक्दछन्।’
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा खसेको कुल ६३ हजार ६ सय ७४ मतमध्ये नगरप्रमुखमा ११ हजार ७ सय ६९ (१८ प्रतिशत) मत र उपप्रमुखमा २३ हजार ९ सय ६८ मत (३७ प्रतिशत) मत बदर भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।