काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्ति गरेको छ। बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको हो।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए। उनी प्रमुख जोखिम अधिकृतहुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।
०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी सबैभन्दा ‘कान्छो सीईओ’को रुपमा समेत चर्चित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।