काठमाडौं- इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले सर्वसाधारण सेयर आईपीओ जारी गर्ने भएको छ। कम्पनीले नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारी पूरा गरेको जानकारी दिएको छ।
जसका लागि कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो। सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित रहेको बताएको छ।
सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर–टू–द–होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गरेको बताइएको छ।
सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडिकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको कम्पनीको दावी छ। त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपिटिभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको छ।
आइपिटिभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गरेको कम्पनीले बताएको छ। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच–अप टिभी जस्ता सुविधा तथा सेवाहरूमार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भयो।
कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ। उपत्यका र सहर क्षेत्रमा बलियो रूपमा स्थापित भइसकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ।
हाल देशका ३० सहरमा विस्तारित भइसकेको कम्पनीले आगामी दिनहरूमा अझ धेरै शहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। नेपालमा अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।