काठमाडौं– तिहारको समयमा १७ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप वाणिज्य बैंकहरूबाट बाहिरिएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक ५ गतेदेखि ११ गतेसम्ममा १७ अर्ब १३ करोड रुपैयाँ निक्षेप बाहिरिएको हो।
चाडपर्व मनाउनका लागि सर्बसाधारणले निक्षेप निकाल्दासमेत बैंकिङ्ग प्रणालीबाट ठूलो रकमको निक्षेप बाहिरिएको हो। भदौदेखि बढ्न थालेको निक्षेप दशैंको समयमा पनि केही बाहिरिएको थियो भने अहिले तिहारमा पनि उही अवस्था आएको छ।
कार्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। यस अवधिमा कर्जामा पनि खासै बृद्धि देखिँदैन। गत साता बैंकहरूको कर्जा लगानी ५६ करोड रुपैयाँले मात्र बढेको छ। कात्तिक ११ गतेसम्ममा बैंकहरूले ४२ खर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
निक्षेप बाहिरिएसँगै ८६ प्रतिशतमा झरिसकेको बैंकहरूको औसत सीडी रेसियो पुनः ८७.२३ प्रतिशतमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।