काठमाडौं– साताको पहिलो तथा तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आइतबार सेयर बजार परिसूचक नेप्से १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुग्यो।
त्यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सन्सेटिभ इन्डेक्स २.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१५ अंकले बढ्यो।
आइतबार कारोबारमा आएका २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको किनबेच भएको छ।
आइतबार कारोबारमा आएका नेप्सेका १३ समूहमध्ये ११ समूहको उपसूचक बढेको छ भने २ समूहको उपसूचक घटेको छ। होटल समूहको उपसूचक १९.९४ र म्युचुअल फण्डको उपसूचक ०.०४ अंकले घट्यो।
निर्जीवन बिमा, हाइड्रोपावर र विकास बैंक उससमूहको सूचक १ प्रतिशतभन्दा धेरै बढेको छ।
नेप्से परिसूचक बढेसँगै आइतबार रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरको सेयर सकारात्कम सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, जनउत्थान लघुवित्तको ४.१५ प्रतिशत, किसान लघुवित्तको ४.०४ प्रतिशत र मिथिला लघुवित्तको सेयर ३.९८ प्रतिशतले बढेको छ।
अभियान लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.०३ प्रतिशतले घटेको छ। आइतबार एभरेस्ट बैंकको सबैभन्दा धेरै ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।