काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सुरक्षाको चासो राखेको छ।
आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरूसँग शुक्रबार छलफल गरेको हो।
छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।
सुरक्षा निकायका प्रमुख/प्रतिनिधिहरूले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीका बारेमा जानकारी गराए।
छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरू मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा र कामु सचिव मुरारीप्रसाद खरेल सहभागी थिए।
नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल लागयतको सहभागिता रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।